एमाले दोलखाबाट नौ महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन
काठमाडौँ — नेकपा (एमाले) दोलखा जिल्ला कमिटीले आगामी ११औँ राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन गरेको छ। जिल्ला नेतृत्वले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतिनिधि चयनका विवरण सार्वजनिक गरेको हो।
खुला तर्फका प्रतिनिधिमा मेलुङ गाउँपालिकाबाट जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, भिमेश्वर नगरपालिकाबाट भरतबहादुर केसी, तामाकोशी गाउँपालिकाबाट ईश्वर पोखरेल र कालिञ्चोक गाउँपालिकाबाट डबल पाण्डे चयन भएका छन्।
महिला तर्फ बैतेश्वर गाउँपालिकाबाट शान्तिकुमारी तामाङ, गौरीशंकर गाउँपालिकाबाट उर्मिला थामी र बिगु गाउँपालिकाबाट शारदा राणा प्रतिनिधि बनेका छन्।
दलित तर्फ शैलुङ गाउँपालिकाबाट विशाल बिक र युवा तर्फ जिरी नगरपालिकाबाट लक्ष्मण गुभाजु महाधिवेशन प्रतिनिधिमा चयन गरिएको एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिए। उनका अनुसार जिल्लाबाट जम्मा नौ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका हुन्।
आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने ११औँ राष्ट्रिय महाधिवेशनका लागि दोलखाबाट निर्वाचित ९ प्रतिनिधिमध्ये ५ जना नेता पार्वत गुरुङ पक्षधर र बाँकी आनन्दप्रसाद पोखरेल पक्षधर रहेका बताइएको छ।