राजनीतिक दलभित्र पनि मेलमिलाप आवश्यक छ : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूभित्र आन्तरिक मेलमिलाप अपरिहार्य रहेको बताएकी छन्। आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता घोषणा सभालाई सिंहदरबारमा सम्बोधन गर्दै उनले दलभित्र देखिएको तानातानले मुलुकको गतिशीलता प्रभावित भइरहेको उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीले संकटका समयमा एनआरएनएले पुर्याएको सहयोगप्रति धन्यवाद दिँदै विदेशमा बसेका नेपालीहरू पनि राजनीतिक चेतमा सशक्त रहेको बताइन्। उनले पार्टीहरूमा पदका लागि चल्ने छिनाझपटीको आलोचना गर्दै भनिन्, “कमसेकम तपाईंहरूजस्तै दलहरूमा पनि मेलमिलाप चाहिएको छ। दल–दलबीच र दलभित्र नै मेलमिलाप आवश्यक छ।”
उनका अनुसार दलहरूबीच पानीबाराबारजस्तो दूरी सिर्जना हुनु देशको हितमा छैन। नेता–कर्मचारी फुटेको दृश्य देखिएका बेला एनआरएनएको एकताबाट राजनीतिक दलहरूले पनि सिक्नुपर्ने उनले बताइन्।
एनआरएनएको मागअनुसार नागरिकताको विषयमा सरकारले गम्भीर चासो राखिरहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले “जहाँ–जहाँ सम्भव हुन्छ, त्यहाँ–त्यहाँ एनआरएनएको माग सम्बोधनका लागि प्रयास गर्ने” आश्वासन दिइन्।