राप्रपाद्वारा मधेस प्रदेशसभा सदस्य कञ्चन बिच्छा ६ महिनाका लागि निलम्बन
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मधेस प्रदेशसभा सदस्य कञ्चन बिच्छालाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गरेको छ। बिहीबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले पार्टी निर्णयविपरीत मन्त्री बनेको भन्दै उक्त कदम चालिएको हो।
पार्टी प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार केन्द्रीय अनुशासन समितिको सिफारिसमा बिच्छालाई निलम्बन गर्ने निर्णय गरिएको हो। साथै, पार्टी निर्देशन उल्लंघन गरेको आरोपमा उनलाई मधेस प्रदेशसभा सदस्यबाट फिर्ता बोलाउने निर्णय पनि बैठकले गरेको छ।