एमाले मकवानपुर अध्यक्ष पोखरेल क्षेत्र–१ बाट महाधिवेशन प्रतिनिधिमा पराजित
नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल महाधिवेशन प्रतिनिधि पदमा पराजित भएका छन्। एमालेको ११औँ केन्द्रीय महाधिवेशनका लागि मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिस्पर्धा गरेका पोखरेल शनिबार सम्पन्न निर्वाचनमा ३३४ मतसहित पराजित भएका हुन्। मङ्सिर २७ देखि २९ गते काठमाडौँमा आयोजना हुने महाधिवेशनका लागि मकवानपुरका दुई निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरू छनोट भइसकेका छन्। क्षेत्र नम्बर–२ बाट सर्वसम्मत रूपमा बलराम बल, एकलाल श्रेष्ठ, हिदम लामा, विदुर हुमागाई, सुमित्रा काफ्ले, भगवती पुडासैनी, गीता प्रजा र रोहण लामा निर्विरोध चयन भएका छन्।
क्षेत्र नम्बर–१ मा शनिबार हेटौँडाको हुप्राचौरस्थित पशुपति मन्दिरको सभाहलमा भएको निर्वाचनमा २२ जना प्रतिस्पर्धीमध्ये आठ जना निर्वाचित भएका छन्। निर्वाचित प्रतिनिधिहरूमा नवीन सिग्देल, फुर्वा दोर्जे लामा, सुनिल मोक्तान, अणराज जर्गामगर, आरती पाठक, सीता विष्ट, विनाकुमारी थिङ र बोलबहादुर कार्की रहेका छन्। सिग्देल, लामा र मोक्तान क्रमशः हेटौँडा ४, १० र १५ का वडा अध्यक्ष हुन्। निर्वाचन कमिटीका प्रमुख अधिकृत सूर्यचन्द्र न्यौपानेका अनुसार मकवानपुरबाट क्षेत्र नम्बर–१ बाट खुला ४, महिला ३ र युवा १ गरी आठ जना र क्षेत्र नम्बर–२ बाट सोही अनुपातमा आठ जना प्रतिनिधि चयन हुने व्यवस्था गरिएको थियो।