नेकपाद्वारा वाम, समाजवादी र लोकतन्त्रवादी शक्तिलाई एकता र सहकार्यको आह्वान
काठमाडौँ — नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले देशको विद्यमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै वामपन्थी, समाजवादी, सच्चा लोकतन्त्रवादी तथा देशभक्त राजनीतिक शक्तिहरूलाई एकता, ध्रुवीकरण र सहकार्यको प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ। पार्टीले मंगलबार एक अपिल जारी गर्दै पुनर्गठित नेकपाको नेतृत्वमा अघि बढेको ध्रुवीकरण अभियानमा सबै पक्षलाई समाहित हुन आग्रह गरेको हो।
अपिलमा श्रमजीवी वर्गको मुक्ति र समाज रूपान्तरणको वैचारिक आधार माक्र्सवाद–लेनिनवाद रहेको उल्लेख गर्दै पार्टीको मार्गनिर्देशक सिद्धान्त सोही सिद्धान्तगत धारमा आधारित भएको स्पष्ट गरिएको छ। नेकपाका अनुसार सही विचार, स्पष्ट राजनीतिक कार्यक्रम तथा अनुभव र ऊर्जाको संकेन्द्रण नै पार्टी एकताको मूल सार हो।
अपिलमा भनिएको छ, “नेपाली पूँजीवादी जनवादी क्रान्तिका मौलिक विशेषता र नेपाली समाजका विशिष्टताका आधारमा तयार गरिएको ‘नेपाली विशेषताको समाजवाद’ नै पार्टीको रणनीतिक कार्यक्रम हो। सुशासन, सामाजिक न्याय र समृद्धिलाई आधार बनाउँदै समाजवादतर्फ अघि बढ्नु हाम्रो एकताका मुख्य आधारहरू हुन्।”
गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय तथा आर्थिक–सामाजिक रूपान्तरणमार्फत समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्ने जिम्मेवारीका साथ १५ वटा कम्युनिष्टसहित समाजवादी शक्तिको एकीकरणबाट पुनर्गठित नेपाली कम्युनिष्ट पार्टी बनेको पनि अपिलमा उल्लेख गरिएको छ।