प्रलोपा द्वारा देशव्यापी भ्रष्टाचार विरोधी अभियान घोषणा, जिएस गुरुङ नेतृत्वमा कार्यदल गठन
१३ मंसिर, काठमाडौं — प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले देशभर व्यापक भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। पार्टीको विस्तारित बैठकले अभियान सञ्चालनका लागि जिएस गुरुङको नेतृत्वमा विशेष कार्यदल गठन गर्ने निर्णय गरेको हो।
गुरुङ नेतृत्वको कार्यदलमा जटिल कार्की, अमित खनाल ऊर्जा, सम्झना राई, ध्रुवप्रसाद काप्री, मञ्जु मिक्चान र दिपक महतो लगायतका सदस्य रहने प्रलोपाले जनाएको छ।
बैठकले आगामी २१ फागुनमै प्रतिनिधि सभा निर्वाचन गराउने वातावरण निर्माण गर्न सबै पक्षसँग आग्रह गरेको अध्यक्ष परिषद् अध्यक्ष दुर्गा सोबले जारी गरेको वक्तव्यमा उल्लेख छ। साथै, सरकारले भ्रष्टाचार छानबिनमा प्रभावकारी कदम चाल्न, जेनजी आन्दोलनका क्रममा भएका घटनाका दोषीमाथि कारबाही गर्न तथा विदेशमा रहेका प्रवासी नेपालीलाई मतदानको सुविधा उपलब्ध गराउनुपर्ने माग पनि प्रलोपाले पुनः दोहोर्याएको छ।
प्रलोपाको भनाइमा, देशमा बढ्दो भ्रष्टाचार, सुशासनको अभाव र राजनीतिक अस्थिरताले नागरिक आस्थामा असर परेकाले कठोर अभियान अपरिहार्य बनेको छ।