कञ्चनपुरका तीनै क्षेत्रमा एमाले महाधिवेशन प्रतिनिधि चयन
नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन्। क्षेत्र नम्बर २ मा सर्वसम्मत रूपमा पाँच प्रतिनिधि छानिए पनि क्षेत्र नम्बर १ र ३ मा भने शनिबार मतदानमार्फत प्रतिनिधि चयन गरिएको हो।
क्षेत्र नम्बर १ मा खुला सदस्यतर्फ पल्लबराज भट्ट ४९८ मत र वीरबहादुर थापा ६३९ मतसहित विजयी भएका छन्। महिलातर्फ कमला चौधरी ५१७ र कल्पना गिरी ५१४ मत ल्याएर निर्वाचित भए भने युवातर्फ काशीराम बोहरा ५२१ मतसहित प्रतिनिधि बने। क्षेत्र नम्बर २ मा खुला सदस्यतर्फ रणबहादुर महरा र वचनबहादुर सिंह, महिलातर्फ लक्ष्मी बुढा र पार्वती जोशी तथा युवातर्फ प्रवीण बोगटी सर्वसम्मत रूपमा चयन भए।
यस्तै, क्षेत्र नम्बर ३ मा खुला सदस्यतर्फ डा. दीपकप्रकाश भट्ट ५६७ मत र जनकराज अवस्थी ३३७ मत प्राप्त गरी विजयी बनेका छन्। दलिततर्फ आरपी सार्की र युवातर्फ ओम बस्नेत विजयी भएको निर्वाचन परिणाममा जनाइएको छ। यससँगै कञ्चनपुरबाट महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको टुंगो लागेको छ।