प्रतिनिधिसभा चुनावका लागि १२० दलको दर्ता निवेदन, संख्या अहिलेसम्मकै बढी
काठमाडौँ, १४ मंसिर।आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १२० राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका निवेदन दिएका छन्। संयुक्त चुनाव चिह्न प्रयोग गरी चुनाव लड्ने दलहरू समेत उक्त संख्याभित्र समावेश छन्। आयोगका सहसचिव तथा कानुन–राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञ प्रसाद भट्टराईका अनुसार दर्ताका निवेदनहरू आयोगले अध्ययन गरी आवश्यक निर्णय लिनेछ। अध्ययनका क्रममा केही दलको संख्या हेरफेर हुन सक्ने सम्भावना पनि उनले बताए।
निर्वाचन कार्यक्रमअनुसार मंसिर १ देखि १० गतेसम्म दर्ता अवधि खुला गरिएको थियो। तर, दलहरूबाट अतिरिक्त समय माग आएपछि आयोगले चार दिन थप गरेको थियो। थपिएको अवधिभित्र १२० दलले दर्ताका निवेदन पेश गरेका हुन्। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा यी दलले भाग लिन पाउनेछन्। गत २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ८४ दलले मात्र प्रतिस्पर्धा गरेका थिए, यसपटक संख्या बढेर १२० पुगेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दर्ता तथा एकल चुनाव चिह्न प्रयोगका लागि दर्ताका निवेदनहरू छानबिन भइरहेको छ । योग्यता पुगेका दललाई मंसिर २० गतेसम्म स्वीकृति प्रदान गरिनेछ। ‘पहिलो हुने निर्वाचित हुने’ प्रणालीअन्तर्गत माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता तथा सूची प्रकाशन हुनेछ। माघ ७ गते उजुरी पेश गर्ने, माघ ८ गते उजुरी छानबिन र नामावली प्रकाशन गरिनेछ। माघ ९ गते नाम फिर्ता दिन पाइने र सोही दिन उम्मेदवारको अन्तिम नामावली तथा निर्वाचन चिन्ह प्रदान गरिनेछ।
समानुपातिक प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २० गतेदेखि सुरु हुनेछ। मंसिर २१ गते दलहरूले निवेदन पेश गर्नुपर्नेछ भने मंसिर २४ गते सहभागी दलहरूको नामावली प्रकाशन गरिनेछ। आगामी पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्दसूची पेश गरिने र माघ २० गते अन्तिम बन्दसूची प्रकाशन गरिने कार्यक्रम तय गरिएको छ। स्वीकृत कार्यक्रमअनुसार फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।