रास्वपाले समानुपातिक उम्मेदवार बन्दसूचीको समावेशी आधार गर्यो तय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार बन्दसूची तयार पार्दा क्लस्टर र समावेशी आधार निर्धारण गरेको छ। पार्टीले तयार पारेको ११० सदस्यीय बन्दसूचीमा जातीय र प्रादेशिक प्रतिनिधित्व सुनिश्चित गरिएको छ। सहमहामन्त्री विपिनकुमार आचार्यले तयार पारेको रुपरेखाअनुसार खस आर्य ३१.२ प्रतिशत, आदिवासी जनजाति २८.७ प्रतिशत, मधेसी १५.३ प्रतिशत, दलित १३.८ प्रतिशत, थारु ६.६ प्रतिशत र मुस्लिम ४.४ प्रतिशत प्रतिनिधित्व हुने गरी उम्मेदवार समावेश गरिनेछ। यसैगरी, कम्तीमा ५० प्रतिशत महिला र पिछडिएका क्षेत्रका कम्तीमा ४.३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ।
बन्दसूची तयार गर्दा तीनवटा मुख्य आधार अपनाइएको छ। पहिलो, शुद्ध जनसंख्या अनुपातको आधारमा ११० सिट प्रादेशिक रूपमा बाँडिएको छ। यसअनुसार कोशीबाट १९, मधेस २३, बागमती २३, गण्डकी ९, लुम्बिनी १९, कर्णाली ६ र सुदूरपश्चिम ११ उम्मेदवार रहनेछन्। दोस्रो, जातीय क्लस्टरको प्रादेशिक अनुपातमा सिट बाँडफाँट गरिएको छ, जसअनुसार प्रत्येक प्रदेशमा खस आर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारु र मुस्लिमहरूको प्रतिनिधित्व तय गरिएको छ। तेस्रो, रास्वपाले समानुपातिकतर्फ प्राप्त गरेको प्रादेशिक मतको आधारमा सिट वितरण गरिएको छ।
सहमहामन्त्री आचार्यले बन्दसूचीमा समावेशी प्रतिनिधित्वका अतिरिक्त पार्टी–नीतिगत प्रावधान र अवसरको पुनःवितरण सुनिश्चित गर्ने नीति पनि अंगिकार गरिएको बताएका छन्। यसले नयाँ नेतृत्व, नयाँ पुस्ता र विविध समुदायलाई संसदमा प्रवेश गर्ने अवसर सुनिश्चित गर्नेछ।