एमाले महाधिवेशनका लागि गोरखामा मतदानमार्फत प्रतिनिधि चयन
नेकपा एमालेको आसन्न ११औं महाधिवेशनका लागि गोरखाबाट मतदानमार्फत महाधिवेशन प्रतिनिधि छनोट भएका छन्। उम्मेदवारको संख्या बढी भएपछि शनिबार मतदान गरेर प्रतिनिधि चयन गरिएको एमाले गोरखा संगठनले जनाएको छ।
गोरखा क्षेत्र नम्बर १ मा खुलातर्फ मोहन भट्टराई र विशाल थापा विजयी भएका छन् भने धनेन्द्र धमला र सन्तबहादुर गुरुङ पराजित भए। महिलातर्फ नानीमाया थापालाई पराजित गर्दै मीना बरामु निर्वाचित भएकी छन्। युवातर्फ प्रवीण श्रेष्ठ, शैलेश लामिछाने र सन्जित श्रेष्ठलाई हराउँदै प्रवीण अधिकारी विजयी बने।
यस्तै, क्षेत्र नम्बर २ मा खुलातर्फ प्रेम गुरुङ र बाबुराम थापा निर्वाचित भएका छन्। उक्त क्षेत्रमा ओमबहादुर बराकोटी, वसन्त गुरुङ र टेकबहादुर राना पराजित भए। महिलातर्फ गम्भीरा बराकोटीलाई पछि पार्दै शान्ति चापागाईं विजयी भइन्। युवातर्फ प्रकाश न्यौपानेलाई हराउँदै सुमन श्रेष्ठले जित हात पारे।
दलित क्लस्टरतर्फ कृष्ण नेपाली विजयी भएका छन्। दलित कोटामा काजिराम रोका, कृष्णबहादुर नेपाली र सचिन रोकाले प्रतिस्पर्धा गरेका थिए। गोरखाबाट प्रतिनिधि चयनसँगै एमालेको महाधिवेशन तयारी तीव्र बनेको छ।