माइतीघरमा जेनजी युवाहरूको सरकारविरुद्ध प्रदर्शन
काठमाडौँ — जेनजी आन्दोलनबाट उत्पन्न सरकारले आफ्ना मागहरू सम्बोधन नगरेको आरोप लगाउँदै जेनजी पुस्ताका युवाहरू माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले ब्यानर, पम्प्लेट बोकेर सरकारविरुद्ध नाराबाजी गरेका हुन्।
प्रदर्शनमा सहभागी युवाहरूले ‘सुशीलाको पाराले, दु:ख पाए साराले’, ‘सम्पूर्ण जेनजी पुस्ता एक हौं’, ‘जेनजीको आडमा चुरीफुरी, सुशिला सरकार कुरीकुरी’, ‘ओलीको खेलमा, सुशिलाको झेलमा, जेनजी सबै जेलमा’ जस्ता नारा लेखिएका पम्प्लेट प्रदर्शनमा देखाए।
सरकारले जेनजी आन्दोलनका मागहरू पूरा गर्न ढिला गरेको, युवाहरूको आवाज बेवास्ता गरिएको र नीतिगत रूपमै उपेक्षा भइरहेको आरोप उनीहरूले लगाएका छन्। प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।