प्रधानमन्त्री कार्कीले रास्वपा नेतासँग प्रतिनिधि सभा निर्वाचनमा गरे छलफल
१३ मंसिर, काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको तयारीलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँग शनिवार बालुवाटारमा छलफल गरेकी छन्।
प्रधानमन्त्री कार्कीसँग भएको छलफलमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, नेताहरू शिशिर खनाल र सोबिता गौतम सहभागी थिए। छलफलका क्रममा प्रधानमन्त्री कार्कीले सरकार चुनाव सम्पन्न गराउन प्रतिबद्ध रहेको र भयरहित, निष्पक्ष निर्वाचनका लागि सबै तयारी भइरहेको बताइन्।
रास्वपा नेताहरूले पनि निर्वाचनमा सहभागी हुने र आवश्यक सहयोग प्रदान गर्ने आफ्नो तत्परता व्यक्त गरेका छन्।
प्रधानमन्त्री कार्कीले पछिल्लो समय देशका सबै प्रमुख दलका नेताहरूसँग नियमित रूपमा छलफल गर्दै आएको र शनिबारै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूलाई पनि बालुवाटार बोलाएर निर्वाचन सम्बन्धी छलफल गरेको जनाइएको छ।