उज्यालो नेपाल पार्टीले मंसिर १७ मा घोषणा सभा गर्ने, उर्जामन्त्री कुलमान घिसिङ प्रमुख अतिथि
११ मंसिर, काठमाडौं — उज्यालो नेपाल पार्टीले मंसिर १७ गते राजधानीको प्रज्ञा भवनमा भव्य घोषणा सभा गर्ने भएको छ। पार्टी नेता महेन्द्र लावतीका अनुसार सभामा उर्जामन्त्री कुलमान घिसिङ प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
लावतीले सभामा विभिन्न राजनीतिक शक्तिहरू एकता र सहकार्यका क्रममा जोडिन सक्ने संकेत दिँदै, “चरणबद्ध कार्यक्रमहरू बनेका छन्, सबै कुरा क्रमशः सार्वजनिक गर्दै जानेछौँ,” भने। हालसम्म उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ बीच आगामी प्रतिनिधिसभा निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने सहमति भइसकेको छ। अन्य शक्तिसँग सहकार्यबारे छलफल जारी रहेको र सभामा को–को सहभागी हुने भन्ने विषयसमेत अन्तिम रुपमा टुंगो लाग्ने जनाइएको छ।
यसै सभामा उज्यालो नेपाल पार्टीले आफ्नो दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२ औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ।