प्रचण्डः वाम एकतामा हाम्रो ध्यान एमालेतिर पनि केन्द्रित
काठमाडौँ, १२ मंसिर – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले वाम एकताका लागि आफ्नो ध्यान एमालेतर्फ पनि केन्द्रित रहेको बताएका छन्।
सुदूरपश्चिम प्रदेशको धनगढीमा नेकपाले आयोजना गरेको एकता सन्देश सभामा बोल्दै प्रचण्डले १५ भन्दा बढी वाम घटक गोलबद्ध भएर नयाँ नेपाली कम्युनिस्ट पार्टी गठन भएको उल्लेख गर्दै यो नेपालको इतिहासमै पहिलो रेकर्ड भएको दाबी गरे।
प्रचण्डले अझ ठूलो वाम एकताको आवश्यकता औँल्याउँदै भने, “राष्ट्रको रक्षा र जनताको आकांक्षा पूरा गर्न अन्य वामपन्थी शक्तिसँग पनि एकता आवश्यक छ। हाम्रो ध्यान एमालेतिर पनि त्यत्तिकै छ। एमालेभित्रका सबै देशभक्त र वामपन्थी क्रान्तिकारीहरू पनि यही नेपाली कम्युनिस्ट पार्टीमै केन्द्रित हुनुपर्छ।”
सभामा एमालेबाट नेकपामा प्रवेश गर्नेहरूलाई धन्यवाद दिंदै उनले एमालेभित्र रहेका सबै वामपन्थीहरूलाई एकतामा सामेल हुन आह्वान गरे।