बिजुली प्रिमियम बक्यौता तिर्न थाले उद्योगहरू, तीन उद्योगको किस्ता पुनः सुरु
काठमाडौँ । डेडिकेटेड तथा ट्रंक लाइनबाट बिजुली प्रयोग गरेका उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न थालेका छन् ।
किस्ता तिर्ने उद्योगहरूमा सम्राट् सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिज छन् ।
यी तीनवटै उद्योगले पहिले किस्ताबन्दीको सुविधा लिएर बक्यौता तिर्न थालेका थिए तर २८ किस्ता सुविधा लिएर केही रकम तिरेपछि गत वैशाखदेखि किस्ता तिर्न छोडेका थिए ।
सम्राट् सिमेन्टले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग गरेबापतको थप महसुल कुल ३ करोड ७७ लाख बक्यौता रकमलाई प्रतिकिस्ता १३ लाख ४९ हजार रुपैयाँका दरले २८ मासिक किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट पाएको थियो । चार किस्ता बुझाएपछि उद्योगले गत वैशाखबाट किस्ता तिर्न छोडेको थियो ।
अहिले उद्योगले एकैपल्ट तीन किस्ताको ४० लाख ४७ हजार रुपैयाँ बुझाएपछि जेठसम्मको किस्ता चुक्ता भएको छ । स्वीकृत किस्ता सुविधाअनुसार गत असारदेखि असोजसम्म ११ किस्ता बुझाउनुपर्नेमा सात किस्ता मात्र बुझाएको छ ।
बाँकी ४ किस्ताको ५३ लाख ९६ हजार रुपैयाँ बुझाउन पुनः पत्राचार गरिएको र उद्योगले उक्त रकम तिरी बाँकी किस्ता नियमित तिर्ने बताएको प्राधिकरण, प्रदेश डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख दीपक गौतमले जानकारी दिए ।
त्यस्तै रोल्पा सिमेन्टको ९९ लाख १२ हजार बक्यौता रकमलाई प्रतिकिस्ता ३ लाख ५४ हजार रुपैयाँका दरले २८ मासिक किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट लिएको थियो । छ किस्ता तिरेपछि उद्योगले तिर्न छोडेको थियो ।
अहिले उद्योगले पाँच किस्ताको १७ लाख ७० हजार रुपैयाँ एकैपल्ट तिरेर नियमित किस्ता तिर्ने अवस्थामा पुगेको छ । अब उद्योगको १७ किस्ता तिर्न बाँकी छ ।
यसैगरी, नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले १२ किस्ताको १ लाख २३ हजार रुपैयाँ तिरेर बक्यौता रकम चुक्ता गरेको छ ।