घुस लिएको आरोपमा इन्जिनियरसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागेश्वरी मनोहरा नगरपालिकाकी इन्जिनियर दीपा कार्कीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुखसमेत रहेकी इन्जिनियर कार्की, बिचौलियाको भूमिका निर्वाह गरेको आरोप लागेकी आस्मा कार्की र आशीष पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार कार्कीले भवन निर्माणका क्रममा आवश्यक पर्ने स्ट्रक्चरल एनालाइसिस स्वीकृति, नक्सा पास, घर निर्माण सिफारिस, अस्थायी इजाजत तथा निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराउने क्रममा सेवाग्राहीलाई पटक–पटक दुःख हैरानी दिई घुस माग्ने गरेकी थिइन्।
उजुरीका आधारमा अख्तियारको टोलीले इन्जिनियर कार्की र मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको आरोप लागेकी आस्मा कार्कीलाई सेवाग्राहीबाट ६४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा इन्जिनियर कार्कीले पदको दुरुपयोग गर्दै बिचौलियासँगको मिलेमतोमा सेवाग्राहीबाट कुल २ लाख ८ हजार रुपैयाँ घुस लिएको तथा लिन लगाएको पुष्टि भएको अख्तियारले जनाएको छ। आयोगले सोही रकमलाई बिगो कायम गरी कैद तथा जरिवाना सजायको मागदाबी गरेको छ।
त्यस्तै, आस्मा कार्कीलाई मतियारका रूपमा २ लाख ८ हजार रुपैयाँ बिगो कायम गरी सजायको मागदाबी गरिएको छ। आशीष पौडेलविरुद्ध भने १ लाख ४४ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्। मुद्दा विशेष अदालतमा दायर भएकाले आरोपको अन्तिम टुंगो अदालतको निर्णयबाट हुने छ।