घाइते फ्लाई दुबईका क्याप्टेन स्मित मच्छर यूएई फर्किए
काठमाडौं । दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको विमानमा चक्कु प्रहारबाट घाइते भएका क्याप्टेन स्मित मच्छर साउदी अरबबाट यूएई फर्किएका छन्।
दुबई मिडिया अफिसले शुक्रबार विज्ञप्ति जारी गर्दै चिकित्सकीय स्वीकृतिपछि क्याप्टेन मच्छर यूएई फर्किएको जनाएको छ। उनलाई साउदी अरबको ताबुकस्थित अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।
फ्लाई दुबईका प्रमुख कार्यकारी अधिकृत घैथ अल घैथले विमानमा सवार सबै १७२ यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेको बताएका छन्। घटनाबारे सम्बन्धित अधिकारीहरूको नेतृत्वमा आधिकारिक अनुसन्धान भइरहेको र फ्लाई दुबईले अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको कम्पनीले जनाएको छ।
अधिकारीहरूको अनुरोधमा फ्लाई दुबईले अर्को सूचना जारी नभएसम्म तेल अभिभका लागि हुने उडान स्थगित गरेको छ।
गत बुधबार दुबईबाट १८० यात्रु लिएर तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा को–पाइलटले क्याप्टेन मच्छरमाथि चक्कु प्रहार गरेको बताइएको छ। त्यसपछि विमानलाई साउदी अरबको ताबुकमा अवतरण गराइएको थियो।
घाइते अवस्थामै क्याप्टेन मच्छरले यात्रु तथा चालक दलको सहयोगमा विमानलाई सुरक्षित रूपमा अवतरण गराएको बताइएको छ। घटनापछि उनको साहसको प्रशंसा भइरहेको छ।
इजरायली अधिकारीहरूका अनुसार क्याप्टेन मच्छरमाथि आक्रमण गर्ने को–पाइलट ओमानी नागरिक हुन्। आक्रमणको कारणबारे भने अनुसन्धान जारी रहेको छ।
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि क्याप्टेन मच्छरसँग फोनमा कुराकानी गर्दै उनको साहसको प्रशंसा गरेका छन्।