होर्मुज जलडमरूमध्य खोल्न इरानले राख्यो सात सर्त
काठमाडौं । मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासबीच इरानले आफ्ना सर्त पूरा नभएसम्म होर्मुज जलडमरूमध्य नखोल्ने अडान दोहोर्याएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलडमरूमध्य पुनः खोल्ने प्रस्ताव अस्वीकार गरेपछि इरानले यस्तो धारणा सार्वजनिक गरेको हो।
इरानी विदेशमन्त्री अब्बास अराघ्चीका अनुसार जलडमरूमध्य खोल्नुअघि लेबनानसहित सम्पूर्ण मध्यपूर्वमा जारी सैन्य गतिविधि अन्त्य गर्नुपर्नेछ। साथै केही महिनाअघि असफल भएको युद्धविराम सम्झौताका सर्त कार्यान्वयन गर्नुपर्ने इरानको माग छ।
इरानले रोक्का गरिएका आफ्ना सम्पत्ति फुकुवा गर्नुपर्ने, इरानी तेलमाथिका प्रतिबन्ध हटाउनुपर्ने र अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने मागसमेत राखेको छ।
अराघ्चीले इरानले कूटनीति र वार्ताबाट पछि नहटेको तर आफ्ना अधिकारबाट पनि पछि नहट्ने बताएका छन्। उनका अनुसार इरानले कतारमार्फत अमेरिकासमक्ष सात दिनको ठोस योजना प्रस्तुत गरेको छ। आवश्यक सर्त पूरा भए सात दिनभित्र होर्मुज जलडमरूमध्य पुनः खोली सामान्य समुद्री आवतजावत सुरु गर्न सकिने इरानको दाबी छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भने इरानले जलडमरूमध्य तत्काल खोल्नुपर्ने अवस्थाका कारण सम्झौता गर्न खोजेको बताएका छन्। इरानले अमेरिकी प्रतिक्रियाबारे मध्यस्थकर्तामार्फत जानकारी पाए पनि हालसम्म औपचारिक धारणा प्राप्त नभएको जनाएको छ।
होर्मुज जलडमरूमध्य विश्वव्यापी ऊर्जा आपूर्तिका लागि महत्त्वपूर्ण समुद्री मार्ग मानिन्छ। यसको आवागमनमा अवरोध हुँदा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा समेत प्रभाव पर्न सक्ने भएकाले यसलाई लिएर अन्तर्राष्ट्रिय चासो बढेको छ।
यसैबीच, संयुक्त राष्ट्रसंघमा साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहानले होर्मुज र बाब अल–मन्दबजस्ता महत्त्वपूर्ण जलमार्ग खुला राख्न अन्तर्राष्ट्रिय समुदायले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन्।
रुसका विदेशमन्त्री सर्गेई लाभरोभले पनि रणनीतिक रूपमा महत्त्वपूर्ण क्षेत्रमा स्थायित्व कायम गर्न अन्य जिम्मेवार राष्ट्रसँग मिलेर काम गर्न आफ्नो देश तयार रहेको बताएका छन्।
यता, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राष्ट्रसंघका महासचिव अन्तोनियो गुटेरेससँग भेटवार्ता गर्दै इरान वार्ताको टेबलबाट पछि नहटेको बताएका छन्। तर विगतका अनुभवका कारण अमेरिकामाथि विश्वास गर्न नसक्ने उनको भनाइ छ।
इरानी क्रान्तिकारी रक्षक दलका प्रवक्ता होसेन मोहेबीले इरानका सातवटै सर्त पूरा नभएसम्म अमेरिकाविरुद्धको कारबाही नरोकिने बताएका छन्। उनका अनुसार यमनमा जारी सैन्य गतिविधि अन्त्य गर्नु पनि इरानको मागमध्ये एक हो।