इरानमा यात्रुवाहक बस दुर्घटना, ११ जनाको मृत्यु
इरानको मध्य मरकजी प्रान्तमा शनिबार यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
सरकारी टेलिभिजनलाई उद्धृत गर्दै पीटीआईले जनाएअनुसार दुर्घटना मरकजी प्रान्तको सावेह–हमदान फ्रिवेमा भएको हो। प्रान्तीय ट्राफिक प्रहरीले चालकको थकान र निद्राका कारण बस अनियन्त्रित भई पल्टिएको प्रारम्भिक जानकारी दिएको छ।
दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ। उनीहरूको अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन। बस कहाँबाट कहाँ जाँदै थियो भन्नेबारे पनि अधिकारीहरूले तत्काल जानकारी दिएका छैनन्।
इरानमा सडक दुर्घटनाबाट हुने मानवीय क्षति उच्च रहेको बताइन्छ। असुरक्षित सवारीसाधन, ट्राफिक नियम उल्लङ्घन तथा आपत्कालीन सेवाको सीमिततालाई दुर्घटनाका प्रमुख कारणका रूपमा उल्लेख गरिँदै आएको छ।
यसै महिनाको सुरुआतमा इरानको पश्चिमी सहर सनन्दाज नजिकै इन्धन बोकेको ट्याङ्कर अन्य सवारीसाधनसँग ठोक्किएर विस्फोट हुँदा ११ जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए।