प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभा सकेर स्वदेश फर्किए
प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्।
प्रधानमन्त्री शाह केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनी महासभामा सहभागी हुन गत मंगलबार साँझ अमेरिका प्रस्थान गरेका थिए।
प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा उनले नेपालको प्राथमिकता, जलवायु संकट र अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यबारे धारणा राखेका थिए।
उनले हालै नेपालमा आएको भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनका कारण बढ्दो संकटको उदाहरणका रूपमा प्रस्तुत गरेका थिए। हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै नेपालजस्ता कम योगदान गरेका देशले जलवायु संकटको ठूलो मूल्य चुकाइरहेको बताएका थिए।
प्रधानमन्त्री शाहले ‘जलवायु परिवर्तनले सीमा चिन्दैन’ भन्दै हिमनदी पग्लिने, पहिरो र बाढीजस्ता जोखिम नेपालसँगै चीन र भारतसम्म फैलिने बताएका थिए।
उनले जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्र सीमित गर्न नहुने धारणा राख्दै हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्टित तथा अति कम विकसित देश र भावी पुस्ताको आवाजलाई अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा समान महत्त्व दिनुपर्ने बताएका थिए।
महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्तासमेत गरेका थिए।