बल्खुमा युवकलाई खुकुरी प्रहार गर्ने चार जना पक्राउ
काठमाडौँको बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१४ बल्खु बस्ने ३४ वर्षीय रिच्याड भन्ने सुमन लामामाथि असोज ५ गते राति बर्नहाट कलेजपछाडिको गल्लीमा खुकुरी प्रहार भएको थियो।
घटनापछि घाइते लामाको उद्धार गरी उपचारका लागि पठाइएको थियो। त्यसलगत्तै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले प्राविधिक तथा सूक्ष्म अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा प्रहरीले असोज ९ गते उपत्यकाका विभिन्न स्थानबाट घटनामा संलग्न चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धादिङको खनियाबास गाउँपालिका–५ घर भई तारकेश्वर–५ बस्ने ३१ वर्षीय सन्तोष तामाङ, बारा जितपुर सिमरा उपमहानगरपालिका घर भई बल्खु बस्ने ३० वर्षीय सोमबहादुर तामाङ, नुवाकोटको मेगम गाउँपालिका–६ घर भई तारकेश्वर–४ बस्ने २५ वर्षीय सुवास भन्ने सुनिल तामाङ र बाराको महागढीमाई नगरपालिका–१० घर भई बल्खु बस्ने ३४ वर्षीय धीरज भन्ने बलराम यादव रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट घटनामा प्रयोग भएको ब्यागसहितको एक थान खुकुरी, फलामको दाप तथा घटनाका बेला लगाएका कपडासमेत बरामद गरेको जनाएको छ।
पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।