नारायणीको बाढीमा फसेका २९ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा नारायणी नदीको बाढीले डुबानमा परेका २९ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
केही दिनदेखि परेको अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढेपछि सुस्तास्थित थारुटोलमा बाढी पसेको थियो। शनिबार बिहान पौने ९ बजे सशस्त्र प्रहरी बल, नेपाल बीओपी सुस्ताबाट उद्धार टोली परिचालन गरिएको थियो।
सशस्त्र प्रहरी निरीक्षक मनोज कार्कीको कमान्डमा खटिएको २१ जनाको टोलीले डुबानमा परेका २९ स्थानीयको उद्धार गरेको हो। टोलीले एक गाई र १३ वटा बाख्रालाई समेत सुरक्षित स्थानमा सारेको छ।
उद्धार गरिएका स्थानीय तथा चौपायालाई सुस्ता गाउँपालिका–५ स्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
यसअघि नारायणीको बाढी थारुटोलमा पस्दा १६५ घर प्रभावित भएका थिए। थारुटोलका ७८ परिवारलाई होल्डिङ सेन्टरमा सारिएको थियो भने सैनिक टोल र बड्का टोलका थप ८५ परिवारलाई समेत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो।
नारायणी नदीको जलस्तर बढिरहेकाले सुस्ताका अन्य बस्तीसमेत जोखिममा रहेको स्थानीयले बताएका छन्। निर्माणाधीन तटबन्धको १३२ मिटर भाग अझै निर्माण हुन बाँकी रहेकाले उक्त क्षेत्रमा नदी कटानको जोखिम रहेको स्थानीयको भनाइ छ। बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको उद्धार कार्य जारी रहेको छ।