रौतहटमा कृषि फार्ममा आगलागी, सात पशु जलेर मरे
रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित आचार्य कृषि फार्ममा शनिबार बिहान आगलागी हुँदा सात वटा पशु जलेर मरेका छन्।
फार्म सञ्चालक नरराज आचार्यका अनुसार आगलागीमा चार वटा गाई, दुई वटा बाच्छा र एउटा भैँसी जलेर मरेका हुन्। दुई वटा गाई र एउटा खसीलाई भने सकुशल उद्धार गरिएको उनले बताए।
आगलागीबाट फार्ममा रहेका पशुका साथै अन्य सामग्रीमा समेत क्षति पुगेको छ। आगलागीको कारण भने खुल्न सकेको छैन।
घटना शंकास्पद रहेको भन्दै आचार्यले निष्पक्ष छानबिनको माग गरेका छन्। स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गर्नुका साथै आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गरिरहेको जनाएको छ।