आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। न्यून चापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तीसगढ आसपास रहेको विभागले जनाएको छ।
हाल देशभर अधिकांश बदली रहेको छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। ती प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने अनुमान गरिएको छ।
लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने विभागले जनाएको छ। यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको छ।
विभागले भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।