बाढी र पहिरोले गण्डकीका १६ मुख्य सडक पूर्ण अवरुद्ध
लगातारको वर्षासँगै आएको बाढी, पहिरो र लेदोका कारण गण्डकी प्रदेशका विभिन्न सडकहरूमा यातायात अवरुद्ध भएको छ । राष्ट्रिय राजमार्गसहित १६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सडक अवरुद्ध भएसँगै लामो तथा छोटो दूरीका सवारीसाधनहरू बाटोमै रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् ।
सिद्धार्थ राजमार्ग, मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, बेनी–जोमसोम तथा जोमसोम–कोरोला सडकखण्डमा समेत यातायात सेवा ठप्प भएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३ कालोभिरमा लगातार ढुङ्गा खसेर बाटो रोकिएको छ । सोही खण्डमा पर्ने लो–घेकर दामोदरकुण्ड गाउँपालिका २ सेल्फीडाँडामा लेदोसहितको भेल आएपछि जोमसोम–कोरोला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
त्यस्तै, थासाङ गाउँपालिका ४ काप्रेभिरमा ढुङ्गा र लेदोसहितको पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड ठप्प भएको छ । उता मनाङको नासो गाउँपालिका ३ खोत्रोमा पहिरो जाँदा चामेदेखि बेँसीसहर सडकखण्ड अवरुद्ध बनेको छ ।
म्याग्दीको बेनी नगरपालिका ४ घुमाउने भिरमा पहिरो खस्दा बेनी दरबाङ सडक अवरुद्ध छ भने रघुगंगा २ बैसरी र अन्नपूर्ण ३ सुकेवगरमा पहिरो जाँदा बेनी जोमसोम सडकखण्ड बन्द भएको छ । बागलुङको निसिखोला ४ कानाबागरमा पहिरोले मध्यपहाडी लोकमार्ग र जैमिनी ८ बेलबगरमा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । पर्वतको जलजला गाउँपालिका ८ फर्से र लस्तिमा सडकमा रुख ढलेपछि बेनी बागलुङ सडक दुवैतर्फ रोकिएको प्रहरीले जनाएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका ८ स्याउलीबजारमा मोदी खोलाको बहाव बढेर सडक कटान गर्दा नयाँपुलबाट घान्द्रुक जोड्ने सडकखण्ड फेरि अवरुद्ध भएको छ । यहाँ यसअघि पनि सडक बगेर सडक अवरुद्ध भएको थियो । लामो समय मर्मत गरेपछि अस्थायी यातायात सुरु भएकोमा फेरि सडक बगेको हो । कास्कीकै रुपा गाउँपालिका ३ खाल्टे खोलामा पानीको बहाव बढ्दा पोखरा आउने भित्री सडकखण्ड बन्द छ ।
स्याङ्जाको गल्याङ नगरपालिका १ मालुङ्गामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्ण अवरुद्ध भएको छ । तनहुँको ऋषिङ ८ मा पहिरोका कारण श्रृङ्गगापथ मार्ग अवरुद्ध छ । यसैगरी, नवलपुरको हुप्सेकोट ४ पाङ्ग्रोमा पहिरो जाँदा दलदलेबाट पाल्पा जोड्ने सडक र बुलिङटार ६ घुमाउरी घाटमा लेदोसहितको पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा बन्द भएको छ ।
सुरक्षा निकायको टोलीले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहे पनि लगातारको वर्षा र पहिरो खसिरहेकाले पहिरो पन्छाउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । प्रशासनले मौसम सामान्य नभएसम्म विपद् जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न र सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।