कृष्णभीरको पहिरो हटाएर पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा
धादिङको कृष्णभीरमा पहिरो खसेपछि अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। बेनिघाट रोराङ गाउँपालिका–७ का वडाध्यक्ष कुमार बस्नेतका अनुसार शनिबार दिउँसो साढे १२ बजेदेखि राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको हो।
बिहीबार राति ढुंगासहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो। पहिरोको जोखिमका कारण रातभर यातायात बन्द गरिएको थियो।
हाल एकतर्फी रूपमा सवारीसाधन सञ्चालनमा आए पनि तत्काल दुईतर्फी यातायात सञ्चालन गर्न समस्या रहेको वडाध्यक्ष बस्नेतले बताए। थप पहिरो नखसे आजैदेखि नियमित रूपमा यातायात सञ्चालन गर्न सकिने उनको भनाइ छ।
गत भदौ १४ गते कृष्णभीर क्षेत्रमा सडक भासिएपछि डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिएको थियो। सोही अस्थायी डाइभर्सनमा पहिरो खसेपछि पुनः सडक अवरुद्ध भएको हो।