काठमाडौंमा प्रतिबन्धित लागुऔषधसहित सात जना पक्राउ
काठमाडौंमा प्रहरीले प्रतिबन्धित लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार बिहीबार राति चन्द्रागिरि नगरपालिका–२ नागढुंगामा प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा ट्रामाडोल १२० क्याप्सुलसहित धादिङको थाक्रे गाउँपालिका–४ घर भई चन्द्रागिरि–२ बस्ने २२ वर्षीय रुबिन सुनार र धादिङ धुनबेसी नगरपालिका–५ का २१ वर्षीय सन्तोष तामाङलाई पक्राउ गरेको हो।
उनीहरूमाथि अनुसन्धान गर्ने क्रममा प्रहरीले शुक्रबार चन्द्रागिरि–१५ नैकापबाट थप तीन जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा चन्द्रागिरि–६ का ३४ वर्षीय बिक्रम घले, मकवानपुरको थाहा नगरपालिका–१२ घर भई कीर्तिपुरको मैत्रीनगर बस्ने २४ वर्षीय बिजय तामाङ र काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६ घर भई चन्द्रागिरि–२ थानकोट बस्ने ३४ वर्षीय गणेश लामा छन्।
घलेसँगको सोधपुछका क्रममा ट्रामाडोल बिक्री गर्ने व्यक्तिका रूपमा मकवानपुरको राक्सिराङ गाउँपालिका–२ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ सिर्जना टोल बस्ने ३३ वर्षीय ललितबहादुर स्याङतान र सिन्धुलीको हरिहरपुर नगरपालिका–१ घर भई सोही स्थानमा बस्ने ३२ वर्षीय रत्न तामाङको नाम खुलेको प्रहरीले जनाएको छ।
उनीहरूको खोजी गर्ने क्रममा शुक्रबार साँझ बौद्ध–मुलपानीबाट दुवै जनालाई पक्राउ गरिएको हो।
प्रहरीले उनीहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ३.०१ ग्राम, डाइजेपाम ७८२ एम्पुल, बुप्रेनोर्फिन ७८२ एम्पुल, फेनारगन ७८२ एम्पुल र ट्रामाडोल १८ हजार १४० क्याप्सुल बरामद गरेको जनाएको छ।
त्यस्तै, बा.प्र. ०३–००२ प ७४८ नम्बरको मोटरसाइकल, छ थान मोबाइल र नगद ५ लाख ६० हजार ४ सय रुपैयाँसमेत बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सातै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।