कालीगण्डकी उर्लिएपछि दाउरा बटुल्न नदीमै जोखिम मोल्दै स्थानीय
तीन दिनदेखि भइरहेको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव उच्च बनेको छ। नदीमा बहाव बढेसँगै बाढीले बगाएर ल्याएका ढुङ्गा, मुढा र दाउरा संकलन गर्न पर्वतको मालढुङ्गास्थित माझी बस्तीका स्थानीय जोखिम मोलेर नदी किनारमा पुगेका छन्।
शनिबार बिहानैदेखि बाढीसँगै बगेर आएका दाउरा र मुढा जम्मा गर्न नदी किनारमा स्थानीयको भीड लागेको थियो। उनीहरूले लौरोमा अङ्कुशे बनाएर त्यसको सहायताले नदीबाट मुढा निकालिरहेका थिए।
नदीमा पानीको बहाव उच्च रहेकाले प्रहरीले सिट्ठी बजाउँदै स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिरहेको थियो। तर प्रहरीको आग्रहलाई बेवास्ता गर्दै कतिपय स्थानीय दाउरा संकलनमा व्यस्त देखिएका थिए।
कालीगण्डकी नदी बस्तीमा पस्ने जोखिम रहे पनि स्थानीयले त्यसतर्फ खासै चासो नदिएको देखिएको छ। संकलन गरिएका दाउरा र मुढा बागलुङ–पर्वत जोड्ने कालीगण्डकी पुलछेउ तथा माझी बस्तीको आडमा थुपारिएका छन्।
दाउरा संकलन गर्ने क्रममा कतिपय स्थानीयबीच विवादसमेत भएको बताइएको छ। नदीमा बहाव उच्च रहेकाले जोखिम मोलेर दाउरा संकलन नगर्न प्रहरीले स्थानीयलाई आग्रह गरेको छ।