नैनसिंह महरलाई महामन्त्रीको उम्मेदवार बनाउने डडेल्धुरा कांग्रेसको निर्णय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको उम्मेदवारका रूपमा अघि बढाउने डडेल्धुरा कांग्रेस अधिवेशनले सर्वसम्मत निर्णय गरेको छ।
अधिवेशनबाट पारित निर्णयमार्फत देश तथा विदेशबाट महाधिवेशनमा सहभागी हुने सम्पूर्ण प्रतिनिधिलाई महरको पक्षमा उभिन अपिल गरिएको छ।
डडेल्धुरा कांग्रेसले महरलाई इतिहासको सम्मान गर्दै भविष्यको जिम्मेवारी बहन गर्न सक्ने नेतृत्वका रूपमा प्रस्तुत गरेको छ। व्यक्ति र गुटभन्दा माथि उठेर संगठनलाई संस्थागत बनाउँदै बदलिँदो परिस्थितिअनुसार कांग्रेसलाई नयाँ सोच, कार्यशैली र राजनीतिक संस्कारसहित अघि बढाउनुपर्ने आवश्यकता रहेको निर्णयमा उल्लेख छ।
महरले अघि सारेको कांग्रेसलाई ‘इभेन्ट ड्रिभन’ नभई ‘नलेज ड्रिभन र नेसन सेन्ट्रिक’ पार्टी बनाउने अवधारणालाई पनि अपिलको प्रमुख आधार बनाइएको छ। संगठन, नीति र कार्यान्वयनबीचको दूरी घटाउँदै कांग्रेसलाई ‘पावर सेन्टर’ मात्र नभई ‘पर्फोर्मन्स सेन्टर’का रूपमा विकास गर्नुपर्ने धारणा निर्णयमा उल्लेख गरिएको छ।
डडेल्धुरा कांग्रेसले महरको उम्मेदवारीलाई कुनै व्यक्ति वा समूह विशेषको पक्षमा मात्र नभई कांग्रेसको संगठनात्मक रूपान्तरणसँग जोडिएको राजनीतिक प्रस्तावका रूपमा व्याख्या गरेको छ। ज्ञानमा आधारित राजनीति, पारदर्शिता, जवाफदेहिता, पुस्तान्तरण तथा राष्ट्रिय हितकेन्द्रित राजनीतिक संस्कार निर्माणलाई त्यसको आधार बनाइएको छ।
अधिवेशनले महरलाई महामन्त्री पदमा अघि बढाउने निर्णय गर्दै देशभर तथा विदेशमा रहेका महाधिवेशन प्रतिनिधिसँग उनको उम्मेदवारीलाई समर्थन गर्न औपचारिक अपिलसमेत गरेको छ।