उत्तराखण्डमा भारी वर्षा, चारधाम यात्रा स्थगित
भारतको उत्तराखण्डमा लगातार भइरहेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ। मौसम विज्ञान केन्द्रले देहरादून, पौडी र टिहरीका केही क्षेत्रमा अत्यधिक भारी वर्षाको सम्भावना जनाउँदै रेड अलर्ट जारी गरेको छ।
लगातारको वर्षा र पहिरोका कारण प्रदेशका ५७ सडक अवरुद्ध भएका छन्। नदीहरूमा समेत जलसतह बढेपछि तटीय क्षेत्रमा सतर्कता अपनाइएको छ।
खराब मौसमका कारण सुरक्षालाई ध्यानमा राख्दै चारधाम यात्रा आइतबारसम्म स्थगित गरिएको छ। यात्रुहरूलाई सम्बन्धित ट्रान्जिट क्याम्पमै रोकिएर मौसममा सुधारको प्रतीक्षा गर्न आग्रह गरिएको छ।
मौसमविद्हरूले पहाडी क्षेत्रमा अत्यावश्यकबाहेक यात्रा नगर्न तथा वर्षाका बेला उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। राज्यको इमरजेन्सी रेस्क्यु सेन्टरले अवस्थाको निरन्तर निगरानी गरिरहेको जनाएको छ।