पहिरोले घर भत्किँदा महोत्तरीमा एक महिलाको मृत्यु
लगातारको वर्षापछि गएको पहिरोले घर भत्किँदा महोत्तरीमा एक महिलाको मृत्यु भएको छ। मिथिला नगरपालिका–११ बर्दीबासस्थित सिन्धुली सडकखण्ड नजिकै आँपगाछी चोकमा घर भत्किँदा स्थानीय ४२ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।
टिनको छानो भएको काठको घर पहिरोका कारण आइतबार बिहान ९ः५० बजे भत्किएर पुरिएको थियो। घरमा पुरिएकी श्रेष्ठको घटनास्थलबाट उद्धार टोलीले शव निकालेको हो।
घटनालगत्तै सशस्त्र प्रहरीको सुरक्षा बेस नक्टाझिज धनुषा, सुरक्षा बेस गौरीडाँडा महोत्तरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली घटनास्थल पुगेको थियो। जेसिबीको सहयोगमा उद्धार गरिएको श्रेष्ठको शव पोस्टमार्टमका लागि बर्दीबास अस्पताल पठाइएको प्रहरीले जनाएको छ।