बाढीपहिरोले देशभरका राष्ट्रिय राजमार्ग प्रभावित, सात सडक पूर्णरूपमा बन्द
लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्ग तथा मुख्य सडक अवरुद्ध भएका छन्। सडक विभागका अनुसार काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति राजमार्गसहित सात राष्ट्रिय राजमार्गमा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ।
पूर्व–पश्चिम राजमार्गसहित छ सडकखण्डमा भने एकतर्फी तथा आंशिक रूपमा यातायात सञ्चालनमा आएको विभागले जनाएको छ। मकवानपुरको रजैयामा पहिरो खसेपछि पूर्व–पश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा छ। पहिरो पन्छाएर पूर्ण रूपमा सडक सञ्चालनमा ल्याउन मेसिन परिचालन गरिएको छ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर, तिङ्ग्राङखानी, बाङ्गे र चालिसेमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। त्यस्तै, नारायणगढ–मुग्लिन सडकखण्डको नाम्सी खोला पुलमा लेदोसहितको पहिरो खसेपछि सडक बन्द भएको छ। दुवै स्थानमा पहिरो हटाउने काम भइरहेको छ।
बीपी राजमार्गअन्तर्गत माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे र चौकीडाँडालगायत स्थानमा पहिरो तथा बाढीले डाइभर्सन बगाएपछि यातायात ठप्प भएको छ। निरन्तर वर्षा र पहिरो जाने क्रम नरोकिएकाले तत्काल सडक सञ्चालन गर्न नसकिने विभागले जनाएको छ।
कान्ति राजमार्गको चपली र तकुर्चेलगायत स्थानमा पहिरो खसेपछि यातायात बन्द छ। सिद्धिचरण राजमार्गको ओखलढुङ्गा–सल्लेरी खण्डमा सोलुखोलानजिक सडक भासिएपछि भित्तो कटान गरी अस्थायी रूपमा यातायात सञ्चालन गरिएको छ।
मध्यपहाडी राजमार्गअन्तर्गत बागलुङको घोडाबाँधे–हटिया, नरेठाँटी, काफलठुटा, झाँक्रीस्थान र चौराहलगायत क्षेत्रमा पहिरो तथा ढलेका रुख हटाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ।
कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको रघुगङ्गा–२ बैसेरी सिरुवारीमा गएको पहिरो निरन्तर वर्षाका कारण पन्छाउन कठिनाइ भएको छ। जैमिनी–८ बेलबगरमा स्थानीय यातायातका लागि एकतर्फी सडक खुलाइएको भए पनि लामो दूरीका सवारीलाई अनुमति दिइएको छैन।
तमोर करिडोरको मुलघाट–फिदिम खण्डमा छरुवा खोला, नवा खोला र रानीगाउँमा सडक आंशिक अवरुद्ध छ। नदीको बहाव बढ्दा सडक अवरुद्ध हुने र बहाव घटेपछि सञ्चालन हुने अवस्था रहेको विभागले जनाएको छ।
राप्ती राजमार्गको कपुरकोट–खारखोला–टुनीकोट खण्ड पहिरोका कारण पूर्णरूपमा बन्द भएको छ। कर्णाली राजमार्गको गगने खोला, राँका तथा बाङ्गेसिमल–दहीखोला खण्डमा पनि पहिरोका कारण यातायात प्रभावित भएको छ।
भालुवाङ–चकचके–लिवाङ सडकका विभिन्न स्थानमा पहिरो खसेपछि आंशिक अवरोध भएको छ। साना सवारीसाधनलाई सावधानीपूर्वक सञ्चालन गर्न दिइएको छ भने पहिरो तथा ढुङ्गा हटाउने काम भइरहेको छ।
यसैगरी, बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको नासो गाउँपालिकाको खोत्रोमा ढुङ्गा खसेपछि सडक पूर्णरूपमा बन्द भएको छ। पहिरो पन्छाउन कठिनाइ भइरहेको विभागले जनाएको छ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार अवरुद्ध सडक खुलाउन तथा यातायात सेवा यथाशीघ्र सञ्चालन गर्न आवश्यक उपकरण र प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।