कालीगण्डकीको बाढीले पर्वतमा ६६ घर बगायो
कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा ६६ घर पूर्ण रूपमा बगाएको छ। बाढीका कारण थप २३ घर उच्च जोखिममा परेका छन्।
उच्च जोखिममा रहेका घरमा बस्न सक्ने अवस्था नभएपछि स्थानीयवासीका सरसामान सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।
घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण, पर्वतसहित नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायका टोली उद्धार तथा व्यवस्थापनमा निरन्तर खटिएका छन्।
डीएसपी शैलेन्द्र थापाका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार, सुरक्षित स्थानान्तरण तथा व्यवस्थापनको काम भइरहेको छ। नदीको जलसतह र बहावलाई ध्यानमा राख्दै जोखिममा रहेका बस्तीमा उच्च सतर्कता अपनाइएको छ।