त्रिशूली नदीको कटानले मनकामना केबलकारको गेटभित्रको सडक भासियो
निरन्तरको वर्षाका कारण त्रिशूली नदीको बहाव बढ्दा चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको छ।
गोरखाको सहिद लखन गाउँपालिका–३ सिलिङटार जोड्ने झोलुङ्गे पुलमा त्रिशूली नदीको तीव्र बहावले निरन्तर प्रहार गरेपछि केबलकारको गेटदेखि भित्रतर्फको सडक भासिएको हो।
इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्र उप्रेतीका अनुसार वर्षासँगै नदीले धार परिवर्तन गर्दा मुख्य राजमार्गमा समेत चर्किएको छ। नदीको तीव्र बहावका कारण झोलुङ्गे पुलमा निरन्तर दबाब परेपछि भित्री सडक भासिएको उनले बताए।
सडक भासिएपछि मनकामना केबलकार सेवा बन्द गरिएको छ। नदीको बहावले पुलमा निरन्तर प्रहार गरिरहेकाले आसपासका क्षेत्रमा थप जोखिम बढेको वडाध्यक्ष उप्रेतीले जानकारी दिए।
नदीको बहाव र सडकको अवस्थालाई निगरानीमा राखिएको तथा थप क्षति हुन नदिन सतर्कता अपनाइएको जनाइएको छ।