तिनाउ नदीको बाढीले बुटवलमा तीन घर बगायो
अविरल वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले बुटवलमा ठूलो क्षति पुर्याएको छ। बाढीले बुटवल महानगरपालिका–११ माथिल्लो मजुवा टोलमा तीन वटा घर बगाएको छ भने थप तीन वटा घर क्षतिग्रस्त भएका छन्।
आइतबार आएको बाढीले नदी आसपासका क्षेत्रमा कटानसमेत बढाएको छ। बाढीका कारण स्थानीयवासी त्रसित भएका छन्।
नदीमा पानीको बहाव बढिरहेकाले आसपासका बस्तीमा थप क्षति हुन सक्ने जोखिम रहेको छ। स्थानीय प्रशासन तथा सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्।