महाकालीमा पानीको सतह बढेपछि बनबासा पुलमा सवारी बन्द
तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको सीमावर्ती बनबासा पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवागमन बन्द गरिएको छ ।
महाकाली नदीमा पानीको बहाव १ लाख ९७ हजार ७७४ क्युसेक पुगेपछि सुरक्षा सतर्कता अपनाउँदै नेपाल–भारत आवतजावत गर्ने चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी टेक रावतले बताए ।
पानीको बहाव बढेपछि पुरानो शारदा ब्यारेजमा सुरक्षा जोखिम हुने भएकाले चारपाङ्ग्रे सवारीसाधन रोकिएको प्रहरीले जनाएको हो । पैदल यात्रु तथा दुईपाङ्ग्रे सवारीसाधनको आवागमनबारे भने स्थानीय प्रशासनले अवस्था हेरेर निर्णय गर्ने जनाएको छ ।
तीन दिनदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको हो । वर्षासँगै पहाडी क्षेत्रमा पहिरोको जोखिमसमेत बढेको छ ।
पहिरोको जोखिमलाई ध्यानमा राख्दै सुदूरपश्चिमका पहाडी जिल्लामा चल्ने छोटो तथा लामो दूरीका सार्वजनिक सवारीसाधनसमेत रोकिएका छन् । जिल्ला प्रशासन कर्यालय कञ्चनपुरका अनुसार, मौसममा सुधार नआएसम्म सोमबार बिहानसम्म यातायात सेवा स्थगित रहनेछ ।