पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रहरी नियन्त्रणबाट मुक्त
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रहरी नियन्त्रणबाट मुक्त भएका छन्। गएरातिदेखि उपत्यका अपराध अनुसन्धान कार्यालयको नियन्त्रणमा रहेका जबरा आइतबार दिउँसो टेकुस्थित कार्यालयबाट बाहिरिएका हुन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई शनिबार राति महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर टेकुस्थित कार्यालयमा ल्याएको थियो।
प्रहरीले भने जबरालाई पक्राउ गरिएको नभई सुरक्षाका लागि कार्यालयमा ल्याइएको दाबी गरेको छ। कार्यालयका एसएसपी सन्तोष खड्काले जबरालाई सुरक्षित स्थानमा लगेर छाडिएको जानकारी दिए।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीका अनुसार जबरा कार्यालयबाट गइसकेका छन्। उनले भने, “उहाँ यहाँबाट जानुभएको छ, सुरक्षित स्थानमा पठाइएको छ।”
जबरालाई नियन्त्रणमा लिनुको कारण तथा सुरक्षाका लागि उनलाई कार्यालय ल्याउनुपर्ने अवस्थाबारे प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन।