पाकिस्तानद्वारा अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन आक्रमण
पाकिस्तानले अफगानिस्तानबाट आफ्नो भूभागतर्फ ड्रोन आक्रमणको प्रयास भएको दाबी गर्दै त्यसको जवाफमा अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन आक्रमण गरेको जनाएको छ।
पाकिस्तानका सूचना तथा प्रसारणमन्त्री अताउल्लाह तारारले ती स्थान ड्रोन प्रक्षेपण तथा भण्डारणका लागि प्रयोग हुँदै आएका सैन्यस्थल भएको दाबी गरेका छन्। उनले पाकिस्तानले आफ्नो सार्वभौम अधिकारको रक्षाका लागि ‘सटीक, नियन्त्रित र अनुपातिक’ कारबाही गरेको बताएका छन्।
तारारका अनुसार आक्रमण पाकिस्तानमाथि भएको भनिएको ड्रोन आक्रमणसँग सम्बन्धित पहिचान गरिएका सैन्य लक्ष्यमा मात्र केन्द्रित थियो। पाकिस्तानले बुधबार अफगानिस्तानबाट आएका आठ ड्रोन आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको र ती सबैलाई खसालेको दाबी गरेको थियो।
अफगानिस्तानले भने पाकिस्तानी हवाई आक्रमणको विरोध गर्दै उचित जवाफ दिने चेतावनी दिएको छ। अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले कुनार र पक्तिका प्रान्तमा पाकिस्तानी आक्रमणबाट नागरिक हताहत भएको दाबी गरेका छन्।
उनका अनुसार कुनारमा एक महिलासहित तीन सर्वसाधारणको मृत्यु भएको तथा चार जना घाइते भएका छन्। पक्तिकामा घर तथा स्थानीय पसलमा क्षति पुगेको उनले बताएका छन्।
संयुक्त राष्ट्रसंघीय सहायता मिसन (युएनएएमए) का अनुसार अप्रिलदेखि जुन २०२६ सम्म सीमापार सशस्त्र हिंसाका घटनामा ३९९ सर्वसाधारण प्रभावित भएका छन्। तीमध्ये ५७ जनाको मृत्यु र ३४२ जना घाइते भएका छन्। प्रभावितमध्ये ४० महिला र ११२ बालबालिका रहेका छन्।
युएनएएमएले हवाई आक्रमण र स्थल सैन्य गतिविधिलाई नागरिक प्रभावित हुनुका प्रमुख कारणका रूपमा उल्लेख गरेको छ। यसअघि जुन २८ मा पक्तिया, पक्तिका र कुनारमा भएका हवाई आक्रमणमा कम्तीमा २८ सर्वसाधारण मारिएको र ४९ जना घाइते भएको युएनएएमएले जनाएको थियो।
सीमापार आतङ्कवादी गतिविधि, ड्रोन आक्रमण तथा सैन्य कारबाहीका विषयमा पाकिस्तान र अफगानिस्तानबीच पछिल्लो समय तनाव बढ्दै गएको छ। दुवै पक्षले एकअर्कामाथि सीमापार आक्रमण तथा आतङ्कवादी गतिविधिलाई संरक्षण दिएको आरोप लगाउँदै आएका छन्।