महिला कबड्डीमा नेपाल सेमिफाइनलमा, श्रीलङ्कामाथि ३४–२५ को जित
जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपालले श्रीलङ्कालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
जापानको तोकाइ सिटिजन व्यायामशालामा बिहीबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कामाथि ३४–२५ को जित निकालेको हो। यससँगै नेपाली महिला टोलीले कबड्डीमा पदक पक्का गरेको छ।
खेलको पहिलो हाफमा नेपाल १९–१३ ले अघि थियो। दोस्रो हाफमा पनि १५–१२ को अग्रता कायम गर्दै नेपालले समग्रमा ९ अंकको जित हासिल गर्यो।
समूह ‘बी’ मा रहेको नेपालले यसअघि थाइल्यान्डलाई पराजित गरेको थियो भने चाइनिज ताइपेइसँग पराजित भएको थियो। नेपालसँगै चाइनिज ताइपेइ समूह ‘बी’ बाट सेमिफाइनलमा पुगेको छ।
यसअघि चीनको हाङजाउमा भएको १९औँ एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो।
यता पुरुष कबड्डीमा नेपालले समूह चरणको अन्तिम खेलमा मलेसियालाई ७३–५२ ले पराजित गरेको छ। पहिलो हाफमा ३७–२१ को अग्रता बनाएको नेपालले दोस्रो हाफमा ३६–३१ को अग्रता कायम गर्दै २१ अंकको जित निकालेको हो।
मलेसियामाथिको जित नेपाली पुरुष टोलीको प्रतियोगितामा सान्त्वना जित बनेको छ। यसअघि लगातार तीन खेलमा पराजित भएसँगै पुरुष टोली प्रतियोगिताबाट बाहिरिइसकेको छ।