केयूका संस्थापक उपकुलपति सुरेशराज शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि
काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति तथा शिक्षाविद् प्रा. डा. सुरेशराज शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
बिहीबार पशुपति आर्यघाटमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शर्माको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरे । अन्तिम बिदाइका क्रममा नेपाल प्रहरीको एक टुकडीले शर्माप्रति सलामी अर्पण गरेको थियो ।
शिक्षा तथा खेलकुद मन्त्रालयको अनुरोधमा गृह मन्त्रालयले राजकीय सम्मान दिने निर्णय गरेपछि शर्माको सोही सम्मानका साथ अन्त्येष्टि गरिएको मन्त्रालयले जनाएको छ । शिक्षामन्त्री पोखरेल, मन्त्रालयका प्रमुख सल्लाहकार शैलेन्द्र झा लगायतका पदाधिकारी आर्यघाट पुगेर शर्माप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
यसअघि शिक्षा तथा खेलकुद मन्त्रालयमा शर्माको सम्मानमा शोक पुस्तिका राखिएको थियो । शिक्षामन्त्री पोखरेल, मन्त्रालयका सचिव चूडामणि पौडेल, प्रमुख सल्लाहकार झा तथा मन्त्रालय र काठमाडौं विश्वविद्यालयका पदाधिकारीले शोक पुस्तिकामा हस्ताक्षर गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
मन्त्री पोखरेलले शर्माको निधनले नेपालको शिक्षा क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए । उनले शोकसन्तप्त परिवार, आफन्त, सहकर्मी तथा काठमाडौं विश्वविद्यालय परिवारप्रति मन्त्रालयका तर्फबाट समवेदना व्यक्त गरे ।
शर्माले काठमाडौं विश्वविद्यालयलाई पूर्ण स्वायत्त संस्थाका रूपमा विकास गर्ने सपना देखेको उल्लेख गर्दै मन्त्री पोखरेलले त्यसलाई पूरा गर्न सरकार अघि बढिरहेको बताए । उनका अनुसार काठमाडौं विश्वविद्यालयलाई बोर्ड अफ ट्रस्टी मोडलमा लैजान आवश्यक ऐन संशोधनको मस्यौदा तयार भइसकेको छ ।
“स्व. शर्माको सपना पूरा गर्ने गरी चाँडै संसद्मा विधेयक लैजान्छौँ,” मन्त्री पोखरेलले भने ।
उच्च तथा प्राविधिक शिक्षा विकासका अग्रणी व्यक्तित्वका रूपमा परिचित शर्माको बुधबार निधन भएको थियो । उनले दुई दशकभन्दा लामो समय काठमाडौं विश्वविद्यालयको नेतृत्व गर्दै विश्वविद्यालयलाई स्वायत्त, गुणस्तरीय र अन्तर्राष्ट्रिय पहिचानयुक्त शैक्षिक संस्थाका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
बेलायतबाट रसायनशास्त्रमा विद्यावारिधि गरेका शर्मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का संस्थापक निर्देशकसमेत थिए । उनले जुम्ला, दोलखाको जिरी र धनकुटालगायतका क्षेत्रमा पुगेर प्राविधिक शिक्षाको सुरुवात गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।
शर्माले बूढानीलकण्ठ स्कुलको अध्यक्षका रूपमा समेत काम गरेका थिए । उच्च तथा प्राविधिक शिक्षाको विकासमा पुर्याएको योगदानका कारण उनी नेपालको शिक्षा क्षेत्रका महत्वपूर्ण व्यक्तित्वका रूपमा स्मरण गरिएका छन् ।