पाकिस्तानले २ हजार पूर्वअफगान सैनिक तथा प्रहरी भर्ना गर्यो
बलुचिस्तानमा बढ्दो विद्रोही आक्रमणसँग जुध्न पाकिस्तानले करिब २ हजार पूर्वअफगान सैनिक तथा प्रहरीलाई सुरक्षा बलमा भर्ना गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।
बलुच विद्रोही समूहका आक्रमण बढेपछि पाकिस्तानी सेना तथा सुरक्षा बलमाथि दबाब बढिरहेको अवस्थामा पूर्वअफगान सुरक्षाकर्मीलाई भर्ना गरिएको जनाइएको छ। भर्ना गरिएकामध्ये अधिकांशले अफगानिस्तानमा अमेरिकी सेनासँग मिलेर तालिबानविरुद्ध युद्ध लडेका थिए।
एक पूर्वअफगान सैनिकका अनुसार उनीहरूले मासिक ४० हजार पाकिस्तानी रुपैयाँ पाउनेछन्। उनीहरूसँग हतियार चलाउने तथा युद्ध लड्ने अनुभव रहेकाले बलुचिस्तानमा सुरक्षा कारबाहीका लागि उपयोगी हुने बताइएको छ।
सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि धेरै पूर्वअफगान सैनिक तथा सुरक्षाकर्मीको जागिर र तलब बन्द भएको थियो। प्रतिशोधको डरले उनीहरूमध्ये धेरै पाकिस्तान पुगेका थिए। सन् २०२१ देखि २०२३ सम्म पूर्वसैनिक तथा सुरक्षाकर्मीको हत्या भएका २१८ घटना सार्वजनिक भएको जनाइएको छ।
पाकिस्तान पुगेपछि रोजगारीको अवसर नपाएका उनीहरूले आर्थिक समस्याका बीच सुरक्षा बलमा जागिरको अवसर पाएपछि स्वीकार गरेको बताइएको छ। बलुचिस्तानमा सुरक्षा कारबाही जारी रहे पनि विद्रोहीहरूले प्रहरी चौकी, सरकारी कार्यालय तथा राजमार्गलाई निरन्तर निशाना बनाउँदै आएका छन्।