भारी वर्षाको जोखिममा घण्टा–घण्टामा पूर्वसूचना दिने सरकारको तयारी
सम्भावित भारी वर्षासँगै बाढी र पहिरोको जोखिम बढ्ने भएपछि सरकारले नदीको जलसतह र विपद्को अवस्था निगरानी गरी सर्वसाधारणलाई घण्टा–घण्टामा पूर्वसूचना अद्यावधिक गर्ने भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग समन्वय गरी नदीको अवस्था ‘रियल टाइम’ मा निगरानी गरिनेछ।
असोज ८, ९ र १० गते अधिकांश भूभागमा भारी वर्षाको सम्भावना रहेकाले जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। मुख्य राजमार्गमा डोजरलगायतका उपकरण तयारी अवस्थामा राखिएको र सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले अत्यावश्यकबाहेक यात्रा नगर्न, जोखिमयुक्त हिमाली तथा पहाडी क्षेत्रमा नजान र बाढीका बेला भिडियो खिच्न वा सामाजिक सञ्जालका लागि सामग्री बनाउन खोलानालामा नपस्न पनि आग्रह गरेको छ।