१३ प्रस्तावित राजदूतको सुनुवाइ दसैँअघि नै टुङ्ग्याउने तयारी
सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशका लागि सिफारिस भएका प्रस्तावित राजदूतहरूको सुनुवाइ दसैँअघि नै टुङ्ग्याउने गरी प्रक्रिया अघि बढाएको छ।
बिहीबार बसेको समितिको बैठकले प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया सुरु गर्दै १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको हो।
समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित राजदूतहरूको बायोडाटा, उनीहरूले पेस गर्ने कार्ययोजना र प्राप्त उजुरीलाई मुख्य आधार बनाएर सुनुवाइ अघि बढाइने बताए।
उनका अनुसार प्रस्तावित राजदूतहरूको बायोडाटा समितिमा प्राप्त भइसकेकाले त्यसको अध्ययन तत्काल सुरु गर्न सकिनेछ। उनीहरूले पेस गर्ने नतिजामुखी कार्ययोजनाको अध्ययन पनि उजुरीको समयावधिसँगै अघि बढाइने उनले बताए।
भारत, चीन र संयुक्त राज्य अमेरिकासहित १३ देशका लागि असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिस गरेको थियो। समितिले सुनुवाइ प्रक्रिया सकेसम्म छिटो टुङ्ग्याउने तयारी गरेको जनाएको छ।