भारी वर्षाको जोखिमपछि राति पृथ्वी राजमार्गमा सवारी रोक
अविरल वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम बढेपछि धादिङमा रातको समयमा पृथ्वी राजमार्ग बन्द गर्ने निर्णय गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म पृथ्वी राजमार्गमा सम्पूर्ण सवारीसाधनको आवागमन रोक्ने निर्णय गरेको हो ।
जल तथा मौसम विज्ञान विभागले आगामी केही दिन भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि यात्रु तथा सवारीसाधनको सुरक्षालाई मध्यनजर गर्दै राजमार्ग बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले जानकारी दिइन् ।
वर्षाका कारण राजमार्गमा बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले रातको समयमा यात्रा गर्दा दुर्घटनाको जोखिमसमेत रहने प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले यात्रु तथा सवारी चालकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ । साथै जोखिमयुक्त क्षेत्रमा नजान र सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनको पूर्ण पालना गर्नसमेत अनुरोध गरिएको छ ।