व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । भट्टका बुवा चतुर्भुज भट्टले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले बिहीबार विपक्षीहरूका नाममा तीन दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
सर्वोच्चले विशेष अदालत, प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरोलगायत विपक्षीका नाममा आदेश जारी गर्दै भट्टलाई थुनामा राख्नुको कारण तथा निवेदकको मागबमोजिम बन्दीप्रत्यक्षीकरणको रिट जारी हुनुपर्ने वा नपर्ने आधार र कारण स्पष्ट गर्न भनेको छ ।
आदेशमा भनिएको छ, ‘निवेदकको मागबमोजिम बन्दीप्रत्यक्षीकरणको रिट किन जारी हुनु पर्ने हो? वा रिट जारी हुनु नपर्ने आधार र कारण के हो? सो समेत स्पष्ट गरी यो आदेश प्राप्त भएको मितिले बाटाका म्यादबाहेक ३ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नू।’
त्यसैगरी विपक्षीहरूका नाममा म्याद सूचना पठाई लिखित जवाफ प्राप्त भएमा वा म्याद अवधि नाघेमा पनि नियमानुसार पेस गर्न सर्वोच्चले आदेश दिएको छ ।
सर्वोच्च अदालतमा विचाराधीन रहेका दीपक भट्ट (चतुर्भुज भट्ट) विरुद्ध नेपाल सरकारका मुद्दा नम्बर ०८३–RE–००२१ र ०८३–RE–००२२ समेत अवलोकनका लागि यही मुद्दासँगै राखी पेस गर्न आदेशमा भनिएको छ ।
भट्ट हाल विशेष अदालतको आदेशअनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका छन् ।
सर्वोच्चको कारण देखाऊ आदेशपछि अब विपक्षी निकायले तोकिएको समयभित्र भट्टलाई थुनामा राख्नुको कानुनी आधारसहित लिखित जवाफ पेस गर्नुपर्नेछ ।