फार्मेसीको आवरणमा लागुऔषध कारोबार गरेको आरोपमा ३ जना पक्राउ
फार्मेसी पसलको आवरणमा लागुऔषध कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाबाट तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कालिकोटको पचाल झरना गाउँपालिका–८ का २३ वर्षीय हिमाल शाही र २१ वर्षीय हिरो विक तथा शुभ गाउँपालिका–८ का २६ वर्षीय उमेशबहादुर शाही रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई बुधबार कागेश्वरी मनोहरा नगरपालिका–९ बाट पक्राउ गरेको ब्युरोका सहप्रवक्ता डीएसपी जीवन निरौलाले जानकारी दिए ।
प्रहरीका अनुसार उनीहरूले सञ्चालन गरेको फार्मेसीबाट ट्रामाडोल ६ हजार ११५ क्याप्सुल र नाइट्राजेपाम ५ हजार ७६० क्याप्सुल बरामद गरिएको छ ।
पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत अनुसन्धान अघि बढाइएको छ । उनीहरूलाई अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको डीएसपी निरौलाले बताए ।