वीरगञ्जमा अनधिकृत होर्डिङ बोर्ड र प्रचार सामग्री हटाउन सुरु
वीरगञ्ज महानगरपालिकाले सार्वजनिक स्थानमा अनधिकृत रूपमा राखिएका होर्डिङ बोर्ड, ब्यानर तथा प्रचार सामग्री हटाउन थालेको छ।
सार्वजनिक सम्पत्तिको संरक्षण, सडक तथा विद्युत् संरचनाको व्यवस्थापन र सहरी सौन्दर्य कायम गर्ने उद्देश्यले महानगरपालिकाले सार्वजनिक विद्युत् खम्बा तथा विभिन्न स्थानमा नियमविपरीत राखिएका प्रचार सामग्री हटाउने अभियान सुरु गरेको हो।
महानगरका हरियाली संयोजक प्रकाश खेतानका अनुसार वीरगञ्जका विभिन्न चोक तथा सडकमा रहेका विद्युत् खम्बामा जथाभावी टाँगिएका निजी क्लिनिक, चिकित्सक तथा विभिन्न व्यवसायका प्रचार सामग्री हटाउन थालिएको छ।
अनुमति नलिई मुख्य सडक, चोक तथा विद्युत्का खम्बामा राखिएका विज्ञापन सामग्री हटाउने कामलाई तीव्रता दिइएको खेतानले बताए। सार्वजनिक सम्पत्तिको दुरुपयोग गरी सहरी सौन्दर्य बिगार्ने तथा अनुमतिविना विज्ञापन राख्ने कार्यलाई निरुत्साहित गरिने उनले बताए।
महानगरपालिकाले सार्वजनिक स्थानमा होर्डिङ बोर्ड, ब्यानर तथा अन्य प्रचार सामग्री राख्नुअघि अनिवार्य रूपमा अनुमति लिन सम्बन्धित व्यक्ति तथा संस्थालाई आग्रह गरेको छ।
यसैबीच, वीरगञ्जको मुख्य सडकलाई दसैँअघि सफा तथा व्यवस्थित बनाउने तयारीसमेत भइरहेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले त्रिभुवन राजपथअन्तर्गत गण्डक चोकदेखि मितेरी पुलसम्म सडकको दायाँ–बायाँ २५–२५ मिटर क्षेत्र विस्तार गर्ने योजनाअनुसार घर भत्काउने काम सम्पन्न गरेको जनाएको छ।