म्याग्दीमा पहिरोमा पुरिएर दुई महिलाको मृत्यु
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। आइतबार गएको पहिरोमा पुरिएका ७५ वर्षीया सिउकुमारी गर्बुजा र ५६ वर्षीया दोमाया गर्बुजाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले पुष्टि गरेका छन्।
यसैगरी, अन्नपूर्ण गाउँपालिका–३ दानाको फगाममा पहिरोमा फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत गएको सुरक्षाकर्मीको टोलीले उनीहरूलाई सकुशल उद्धार गरेको हो। उद्धार गरिएका दुवै जनालाई बेनी ल्याइँदै गरेको आचार्यले जानकारी दिए।
आइतबारको पहिरोमा परी म्याग्दीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ। प्रहरी नायव उपरीक्षक राजन कार्कीका अनुसार बेनी नगरपालिका–३ भकिम्लीको छेपारेमा पहिरोमा परी ३६ वर्षीया कुमारी वली विकको मृत्यु भएको हो।
यस्तै, मालिका गाउँपालिका–३ औलामा पहिरोमा पुरिएका एक जनाको उद्धार गरिएको छ। उमेर नखुलेका किरण पुनलाई अचेत अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ।
उक्त स्थानमा पहिरोमा पुरिएका नाम नखुलेका थप दुई जनाको भने खोजी भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए। सुरक्षा निकायको टोलीले प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी राखेको छ।