दशौँ राष्ट्रिय खेलकुदको तयारी बुझ्न कर्णाली रंगशालाको अनुगमन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेल र सहसचिव रमेश ढकालले आइतबार सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको स्थलगत अनुगमन गरेका छन्।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजना स्थलका रूपमा कर्णाली प्रदेश रंगशाला रहने भएपछि प्रतियोगिताको तयारी, पूर्वाधारको अवस्था र आवश्यक व्यवस्थापनबारे जानकारी लिन मन्त्रालयका सचिव तथा सहसचिवले रंगशालाको अनुगमन गरेका हुन्।
अनुगमनका क्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव रवीन्द्र चन्दसहित परिषद्का कर्मचारी तथा खेल प्राविधिकले सचिव पौडेल र सहसचिव ढकाललाई रंगशालाको भौतिक अवस्था र प्रतियोगिताका लागि भइरहेको तयारीबारे जानकारी गराएका थिए।
वीरेन्द्रनगरमा निर्माण गरिएको कर्णाली प्रदेश रंगशालामा झन्डै १० हजार दर्शक अट्ने क्षमता रहेको छ। करिब १ अर्ब ५९ करोड ४७ लाख रुपैयाँ लागतमा निर्माण गरिएको रंगशालामा फुटबल मैदान, चार सय मिटरको एथलेटिक्स ट्र्याक, पौडी पोखरी, दुईवटा कभर्ड हल, भलिबल, बास्केटबल र ह्यान्डबललगायत खेलका पूर्वाधार छन्।
त्यस्तै, क्रिकेट मैदान तथा इन्डोर क्रिकेट हल, कबड्डी र खोखोका लागि आवश्यक संरचनासमेत तयार गरिएको छ। फुटबल मैदान फिफाको मापदण्डअनुसार १०५ मिटर लम्बाइ र ६८ मिटर चौडाइमा निर्माण गरिएको छ। रंगशालामा आठ लेनको एथलेटिक्स ट्र्याकसँगै खेलाडी, रेफ्री, सञ्चारकर्मी तथा मेडिकल प्रयोजनका लागि आवश्यक कक्षसमेत निर्माण गरिएको छ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता यसअघि पटक–पटक मिति तोकिए पनि आयोजना हुन सकेको छैन। राष्ट्रिय खेलकुद परिषद्को १२५औँ बोर्ड बैठकले पछिल्लो पटक प्रतियोगिता आगामी मंसिर १६ देखि २९ गतेसम्म कर्णालीमा आयोजना गर्ने निर्णय गरेको छ।
प्रतियोगिताको तयारीलाई तीव्रता दिन कर्णाली प्रदेश सरकारले पूर्वाधार निर्माण, खेलाडी प्रशिक्षण तथा प्रतियोगिता व्यवस्थापनका लागि बजेट विनियोजन गरेर काम अघि बढाएको छ। पछिल्लो समय रंगशाला सञ्चालन, अन्य खेलस्थलको तयारी, खेल सामग्रीको व्यवस्थापन तथा खेलाडी र प्रशिक्षकको आवास व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।
मन्त्रालयका सचिव र सहसचिवको अनुगमन प्रतियोगिता नजिकिँदै गर्दा संघीय र प्रदेश तहबीच समन्वय बढाउँदै मुख्य खेलस्थलको तयारीलाई थप व्यवस्थित बनाउने प्रयासका रूपमा देखिएको छ। अनुगमनका क्रममा रंगशालामा बाँकी रहेका काम, खेल सञ्चालनका लागि आवश्यक प्राविधिक पक्ष तथा प्रतियोगिताका क्रममा आवश्यक पर्ने व्यवस्थापनबारे समेत जानकारी लिइएको थियो।