कालीगण्डकीको बाढीले मालढुंगा पुल क्षतिग्रस्त, आवतजावत ठप्प
कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बागलुङ जोड्ने मालढुंगा पुल क्षतिग्रस्त बनाएपछि आवतजावत ठप्प भएको छ।
आइतबार बिहान नदीमा आएको बाढीले पुलको पूर्वतर्फको पिल्लर भत्काएपछि पुलबाट सवारीसाधन तथा पैदल यात्रुको आवतजावत रोकिएको हो।
स्थानीयका अनुसार कालीगण्डकी नदीमा भइरहेको दोहनका कारण नदीको धार परिवर्तन हुँदा पुलको संरचनामा थप दबाब परेको थियो। करिब एक महिनाअघि नै नदीको कटानका कारण पुल जोखिममा परेको थियो। पुलको छेउको जमिन कटान भएपछि प्रभावित क्षेत्रलाई त्रिपालले ढाकेर अस्थायी रूपमा संरक्षणको प्रयास गरिएको थियो।
तर आइतबार बिहान आएको बाढीले पुलको पिल्लरमै क्षति पुर्याएपछि आवतजावत पूर्ण रूपमा ठप्प भएको हो।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने मालढुंगा पुल क्षतिग्रस्त भएपछि दैनिक आवतजावत गर्ने हजारौँ यात्रु प्रभावित भएका छन्।
मालढुंगा पुल हुँदै बागलुङसँगै म्याग्दी, मुस्ताङ, गुल्मी, रोल्पा, रुकुम, जाजरकोट, डोल्पा र सल्यानलगायत पश्चिम नेपालका विभिन्न जिल्लातर्फ आवतजावत गर्ने सवारीसाधनसमेत प्रभावित भएका छन्।
पुलमा क्षति पुगेपछि पश्चिम नेपालतर्फ जाने तथा आउने यात्रु र मालवाहक सवारीसाधनलाई थप समस्या भएको छ। पुलको तत्काल मर्मत तथा वैकल्पिक आवतजावतको व्यवस्थाका लागि सम्बन्धित निकायले पहल गर्नुपर्ने अवस्था देखिएको छ।